Thursday, May 17, 2018

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । 
नेपाल वायु सेवा निगमले नयाँ भाडादर पाँच हजार ६ सय रुपैयाँ कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा पाँच हजार ८ सय रुपैयाँ तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु ६ हजार ५ सय रुपैयाँ भाडा लिँदै आएको थियो ।

भाडा महँगो भएको गुनासो बढेपछि भाडादर घटाउन एयरलाइन्स कम्पनीलाई दबाब परेको हो । बागलुङ नगरपालिकाले भाडा समायोजनका लागि नागरिक उड्डयन प्राधिकरणसँग माग गर्दै आएको थियो । नगरपालिकाकै विशेष पहलमा बन्द भएको २६ वर्षपछि गत चैतबाट विमानस्थल सञ्चालनमा आएको हो ।

नेपाल वायु सेवा निगम र तारा एयरलाइन्सको विमानले हाल सातामा दुई पटक उडान भर्दै आएका छन् । ताराको विमानले आइतबार र नेपाल एयरलाइन्सको विमानले बिहिबार उडान भर्दैआएको छ ।

नेपाल एयरलाइन्सपछि तारा एयरलाइन्सले पनि भाडा घटाउने विश्वास लिइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । हाल ताराको भाडादर प्रतियात्रु ६ हजार ७ सय रुपैयाँ कायम छ । विमानस्थल सञ्चालनमा आएपछि बलेवा–काठमाडौँ यात्रा जम्मा ४० मिनेटमा छोटिएको छ । विमानस्थलबाट अत्यावश्वक कामकाजी व्यक्ति र बिरामीले बढी लाभ लिएका छन् ।

Wednesday, May 9, 2018

मुस्ताङमा वर्षासँगै भारी हिमपातः मोदीको मुक्तिनाथ भ्रमण के हुन्छ ?

ठिनी, मुस्ताङ - उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । 
साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । 
करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताए। हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ । 
स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन् । हिन्दू तथा बौद्ध धर्मावम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ । 

बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए । 
हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पु¥याएका छन् । 
वर्षातका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ । 

रासस

प्रथम जैमिनी महोत्सव- २०७५, प्रस्ताव पुस्तिका

प्रथम जैमिनी महोत्सव- २०७५,  कुस्मिसेरा, बागलुङ  पृष्ठभुमिः        वागलुङ जिल्लाको सदरमुकाम वागलुङ बजारदेखि २१ किलोमिटर दक्षिणमा रहेको...